काठमाडौँ, जेठ १२
राष्ट्रिय मानवअधिकार आयोगले जिम्मेवार व्यक्तिहरूलाई सार्वजनिक अभिव्यक्तिमा संयमता अपनाउन आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “जिम्मेवार पदमा रहेका व्यक्तिहरूले कुनै पनि व्यक्ति, समूह वा राजनीतिक दललाई लक्षित गरी नकारात्मक र उत्तेजक टिप्पणी नगर्नु उचित हुन्छ।”
विज्ञप्तिमा आयोगले सबै पक्षलाई शान्तिपूर्ण विरोध प्रदर्शन गर्न र सुरक्षाका निकायलाई शान्ति सुरक्षालाई मजबुत बनाउन आग्रह गरेको छ। आयोगको भनाइ छ— “लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषले कुनै क्षेत्र कब्जामा लिन खोज्नु विधिको शासनको उल्लंघन हो। यसले निषेधात्मक प्रवृत्तिलाई प्रश्रय दिन सक्छ।”
आयोगले प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा गरिएको अभिव्यक्तिप्रति पनि चिन्ता व्यक्त गर्दै भनेको छ, “नेपालको संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेको छ। तर, अरूको विचार र अभिव्यक्तिलाई लक्षित गर्दै मुठभेड निम्त्याउने शैलीमा कुरा गर्नु मानवअधिकारका मूल्य मान्यताको विपरीत जान सक्छ।”
साथै, आगामी जेठ १५ गतेदेखि राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा आन्दोलन गर्ने जानकारी पाएको र त्यसको अनुगमनका लागि आग्रह समेत प्राप्त भएको आयोगले जनाएको छ।
आयोगले सबै पक्षलाई जिम्मेवार व्यवहार अपनाउँदै लोकतान्त्रिक अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा हस्तक्षेप नहुने गरी अघि बढ्न आग्रह गरेको छ।