• Jana Kura

  • 2025-05-18

लमजुङ, ४ जेठ

लमजुङको बेँसीसहरमा शनिबार भएको नेपाल तरुण दलको जिल्ला अधिवेशन एकाएक हिंसात्मक मोडमा पुगेपछि चारजना घाइते भएका छन्।

बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा चलिरहेको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमै दुई पक्षबीच विवाद चर्किँदा खुकुरी प्रहारसम्मको स्थिति आयो।

प्रहरीका अनुसार घाइते हुनेहरूमा बेँसीसहर–९ का वडाध्यक्ष तथा तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेविसंघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेका छन्।

घटनापछि गम्भीर घाइते भएका खुसीजङ्ग गुरुङ र सुदीप अधिकारीलाई तत्काल चितवनको सियमी मेडिकल कलेज, भरतपुर रेफर गरिएको छ।

प्रतिनिधि छनोट, सदस्यता वितरणलगायत आन्तरिक विषयमा मतभेद चुलिँदा दुई समूहबीच झडप भएको र त्यसै क्रममा खुकुरी प्रयोग गरिएको प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए।

लोकतान्त्रिक अभ्यासको प्रशिक्षणस्थल बन्नुपर्ने अधिवेशन स्थल नै हिंसाको अखाडा बन्न पुगेको यो घटनाले स्थानिय तहमा पार्टी भित्रको आन्तरिक व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ।

पार्टीका युवा संगठनभित्र यस्ता घटनाले मात्र नभई, समग्र लोकतान्त्रिक मूल्य र पार्टी अनुशासनमाथि पनि चोट पुर्याउने देखिएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै