पाटन (ललितपुर), ३० वैशाख –
देशका वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीको अवसरमा ललितपुर महानगरपालिकाले उहाँको अर्धकद सालिक अनावरण गरेको छ।
महानगरपालिका कार्यालय अगाडि रहेको झनाख्य मेट्रो पार्कमा निर्माण गरिएको सालिक आज एक विशेष समारोहबीच ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गर्नुभयो।
सालिक अनावरणपछि महानगर प्रमुख महर्जनले स्व. जोशीलाई ‘मुलुककै गहना’ भन्दै उहाँको सम्मानमा जीवनकालमै धेरै कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “जोशीज्यूले ललितपुरको भाषा, साहित्य, संस्कृति र कलामा पुर्याउनुभएको योगदान अमूल्य छ। उहाँको अनुरोधमा हामीले धेरै थुप्रै कार्य गर्न पाएका छौँ, जुन महानगरका लागि गर्वको विषय हो।”
जोशीको इच्छा अनुसार उहाँले लेख्नुभएको चलचित्र ‘वैद्य बा’ आजदेखि लबिम मलमा प्रदर्शनमा आएको छ। महर्जनले स्मरण गर्नुभयो, “उहाँ जीवितै रहँदा जनताको छोराका रूपमा टकमारी र हुलाक टिकटमा सम्मान पाउनुभएको थियो। सय वर्ष पुग्दा बग्गीमा राखेर महानगर परिक्रमा गर्यौँ। आगामी दिनहरूमा पनि उहाँको योगदान झल्किने कार्यक्रम वार्षिक बजेटमै राख्नेछौँ।”
महानगर प्रमुखले जोशीको योगदानलाई दीर्घकालसम्म जगेर्ना गर्न महानगरले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो।
वि.सं. १९७७ साल वैशाख ३० गते जन्मनुभएका सत्यमोहन जोशीको २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो। उहाँको योगदानको कदर गर्दै सरकारले उहाँ जीवितै छँदा तस्बिर अङ्कित नेपाली मुद्रा र हुलाक टिकट प्रकाशित गरेको थियो।
सत्य, संस्कृति र सम्पदाका अमिट चिन्ह बनेका शताब्दीपुरुष जोशी आज पनि ललितपुरको आत्मामा जीवित छन्।