एजेन्सी।
भारतले छिमेकी पाकिस्तानसँगको युद्धविरामपछि सोमबार ३२ वटा विमानस्थल पुन: सञ्चालनमा ल्याएको छ। सन् १९९९ यताकै सबैभन्दा भीषण झडपपछि भएको यो युद्धविरामले तनाव कम गरेको छ। भारतको विमानस्थल प्राधिकरणले कश्मीरको श्रीनगरदेखि लिएर पश्चिम भारतीय राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल नागरिक उड्डयनका लागि “यतिबाटै लागू हुने गरी” खुला गरिएको जनाएको छ।
गत साता भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण लडाइँ भएपछि यी विमानस्थलहरू बन्द गरिएका थिए, जसले पूर्ण युद्धमा परिणत हुने विश्वव्यापी चिन्ता उत्पन्न गराएको थियो।
भारतको प्रमुख वायुसेवा कम्पनी इन्डिगोले बन्द गरिएका रुटहरूमा क्रमशः सेवा सुरु गर्ने बताएको छ।
शनिबार युद्धविरामको घोषणा गरिए पनि दुवै पक्षले तुरुन्तै एकअर्कामाथि उल्लंघनको आरोप लगाएका थिए।
तर सोमबार भारत र पाकिस्तान दुबैले सीमा क्षेत्रहरूमा शान्ति भएको बताएका छन्।