• Jana Kura

  • 2025-05-09

 

काठमाडौँ, वैशाख २६ – वर्षा सुरु भएसँगै हामीलाई राहतको अनुभूति त भएको छ, तर यससँगै एउटा अर्को खतरा पनि झुल्किन थालेको छ—डेङ्गी।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार वर्षातले पानी थुप्रिने अवस्था सिर्जना गरेकाले डेङ्गी सङ्क्रमणको जोखिम गम्भीररूपमा बढ्न सक्छ। उहाँ भन्छन्, “पानी जहाँ जम्छ, त्यहाँ डेङ्गी सार्ने लामखुट्टे प्रजनन गर्छन्। लार्भा देखिनेदेखि वयस्क बन्नेसम्म १५–२० दिन लाग्ने भएकाले यही समय अत्यन्त संवेदनशील छ।”

डेङ्गी फैलाउने ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ जातका लामखुट्टे सफा पानीमा फुल पार्ने गर्छन्। त्यही फुलबाट निस्केका लार्भा वयस्क भइसकेपछि मानिसलाई टोक्छन्, र रोग सार्दछन्।

डा. दाहालका अनुसार, विगत वर्षको भयावह अवस्थाबाट पाठ सिक्दै मन्त्रालयले यस पटक विशेष सतर्कता अपनाउन थालेको छ। गत वर्ष मात्र देशभर ४१ हजारभन्दा बढी सङ्क्रमण भएका थिए र १५ जनाले ज्यान गुमाएका थिए। हालसम्म पुस १७ यता ९६८ जना संक्रमित भइसकेका छन्।

डेङ्गीको नियन्त्रणका लागि सर्वसाधारणको भूमिकासमेत अत्यन्त महत्त्वपूर्ण हुने भएकाले उहाँले सबैलाई पानी जम्न नदिने, घर वरिपरिका भाँडाकुँडासमेत खाली राख्ने, लामखुट्टे लाग्न नदिने उपाय अपनाउन आग्रह गर्नुभएको छ।

अबको केही हप्ता, सानो असावधानीले ठूलो मूल्य तिर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले सचेत बनौं, सुरक्षित रहौं।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै