काठमाडौँ, २६ वैशाख – शान्तिको कामना गर्ने देश नेपालले भारत–पाकिस्तानबीच चुलिँदो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। वैशाख १० गते (२२ अप्रिल) भारतको पहलगाममा भएको एउटा निर्दयी आतङ्कवादी आक्रमणमा परेर एक नेपाली नागरिकसहित २६ जना भारतीय पर्यटकको ज्यान जानु, समग्र दक्षिण एशिया क्षेत्रमै पीडाको बादल छाएको दुखद् क्षण हो।
नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत बिहीबार एक विज्ञप्ति जारी गर्दै गहिरो समवेदना प्रकट गर्दै यस्तो क्रूर घटनाप्रति कडा भर्त्सना गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस दुःखद् घडीमा नेपाल र भारत साझा पीडामा ऐक्यबद्ध भएर उभिएका छन्।”
नेपाल सधैँबाट आतङ्कवादविरुद्ध स्पष्ट र कठोर अडानमा रहेको देश हो। मन्त्रालयको विज्ञप्तिमा थप उल्लेख छ, “नेपालले कुनै पनि शत्रूतापूर्ण गतिविधिका लागि आफ्ना भूमि प्रयोग हुन दिनेछैन।”
शान्ति र स्थायित्वमा विश्वास राख्ने मुलुकको नाताले नेपालले भारत–पाकिस्तानबीचको चिसोपन हट्ने आशा व्यक्त गरेको छ। मन्त्रालयले क्षेत्रीय शान्ति, स्थायित्व र सहअस्तित्वका लागि नेपाल सदैव प्रतिवद्ध रहने पुनः पुष्टि पनि गरेको छ।
दक्षिण एशियामा शान्तिको सपना देख्ने सबैका लागि यो एक कठिन घडी हो। पीडितप्रति श्रद्धाञ्जलि, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना, र यस क्षेत्रको उज्यालो भविष्यप्रति अझै दृढ प्रतिबद्धता– यही हो आजको नेपाल सरकारको सन्देश।