ललितपुर, २४ वैशाख — प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रूपमा निराश बनाउने कामलाई अपराधसरहको व्यवहार भएको बताएका छन्।
‘लोकान्तर डटकम’को नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई निराशाको भावनाले होइन, आशावादको बाटोबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
“हामीले आफ्नै देशमा सम्भावना देख्नुपर्छ, आफैँले बनाउने हो यो देश,” प्रधानमन्त्री ओलीले भने, “काम गर्न सक्ने मानिसहरू देशमै टिक्नुपर्छ, देशमै अवसर खोज्नुपर्छ।”
प्रस्तोता विमल गौतमको “देशमा विकास भइरहे पनि मानिसहरू निराश किन देखिन्छन्?” भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्रीले केही सामाजिक सञ्जाल प्रयोगकर्ताले निराशाको चित्र कोर्न खोजेको टिप्पणी गरे। उनले भने, “केही फेसबुक, युट्युबमा नकारात्मक नजरले मात्रै हेर्नेहरूले देशलाई बदनाम बनाउने प्रयास गरेका छन्। त्यो देशको यथार्थ होइन।”
प्रधानमन्त्रीले विगतमा सुरु गरिएका योजनाहरूलाई तीव्र गतिमा सम्पन्न गर्ने अठोटका साथ सरकारले काम गरिरहेको जानकारी पनि दिए।
“लोकतन्त्र पचाउन नसक्ने, अधिनायकवादको सपना देख्नेहरू अहिलेको प्रणालीप्रति नै असन्तुष्ट छन्,” उनले भने, “तर लोकतन्त्रभन्दा राम्रो विकल्प छैन। आशावादी सोच नै हामीलाई सही दिशामा डोर्याउने बाटो हो।”