• Jana Kura

  • 2025-05-07

काठमाडौँ, वैशाख २४ — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिक नेतृत्व युवाले गर्ने स्पष्ट संकेत दिनुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित ‘सामाजिक रूपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पौडेलले राजनीतिमा युवाको सहभागिता बढ्दै गएको र यही पुस्ताले देशको भविष्य निर्माण गर्ने बताउनुभयो।

“अब राजनीति अगाडि बढाउने जिम्मा पछिल्लो पुस्ताको हो,” मन्त्री पौडेलले भन्नुभयो, “समय लाग्न सक्छ, चुनौती पनि आउन सक्छन्, तर युवाले आफूलाई सक्षम बनाउँदै अगाडि बढ्नैपर्छ।” उहाँले केवल उमेरकै आधारमा नेतृत्व दाबी गर्न नहुने भन्दै योग्यता र क्षमताको विकासमा जोड दिनुभयो।

हाल राजनीतिक वृत्तमा पुस्तान्तरणको चर्चा चलिरहेका बेला मन्त्री पौडेलले युवाले अब नेतृत्वका लागि दबाब दिन सक्ने अवस्था सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले पनि दलहरूले गरेका गलत कामप्रति विद्यार्थीहरू बोल्न र खबरदारी गर्न नहिच्किचाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। “अब मातृ पार्टीले गल्ती गरे चुप लाग्ने होइन, बोल्नुपर्छ। यदि तपाईंहरू नै डराउन थाल्नु भयो भने आम युवाले पनि भरोसा गुमाउन थाल्छन्,” उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे, नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया लगायत वक्ताहरूले पनि नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकालाई सम्झिए।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले विद्यार्थी आन्दोलनलाई परिवर्तनको मेरुदण्डको रूपमा स्मरण गर्दै भन्नुभयो, “हामीले हेर्दै आएका हरेक आन्दोलनमा विद्यार्थीको भूमिका छुटेको छैन। त्यो योगदान भोलिका दिनमा अझ आवश्यक पर्छ।”

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै