• Jana Kura

  • 2025-05-07

 

काठमाडौं, वैशाख २४ – नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता प्रदीप नेपालको निधनले मुलुकको राजनीति, लोकतान्त्रिक अभ्यास र साहित्यिक जगतमा अपूरणीय क्षति पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जनाएको छ।

एमालेका महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै नेता नेपालको निधनबाट पार्टी अत्यन्त दुःखी भएको बताउँदै, उहाँका असल गुण, आदर्श र योगदानबाट सधैं प्रेरणा लिँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

पार्किन्सन रोगबाट पीडित नेता नेपालको उपचारका क्रममा मंगलबार साँझ काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।

महासचिव पोखरेलले नेता नेपाललाई “युवा पुस्तामाझ लोकप्रिय, ऊर्जा र प्रेरणाका स्रोत” भन्दै, तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण र लोकतान्त्रिक धारमा डोर्याउन र जनताको बहुदलीय जनवाद विकासमा उहाँको भूमिका उल्लेखनीय रहेको स्मरण गरे।

साहित्यिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका नेता नेपाल ‘सञ्जय थापा’ नामबाट लेखनमा सक्रिय थिए। उहाँका रचनाले प्रगतिशील विचार बोकेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो, “उहाँ सिर्जनात्मकता, अथक क्रियाशीलता र ऊर्जाको उदाहरण हुनुहुन्थ्यो।”

भोजपुरको गोगनेमा वि.सं. २०१० पुस २८ गते जन्मनुभएका नेता नेपाल विद्यार्थी जीवनदेखि नै राजनीति सक्रियतामा लाग्नु भएको थियो। लामो भूमिगत जीवन बिताउँदै लुम्बिनी, मेची, काठमाडौँ लगायतका ठाउँमा पार्टी निर्माणमा योगदान पुर्‍याउनुका साथै, उहाँले शिक्षा, सूचना–सञ्चार, जलस्रोतजस्ता मन्त्रालयहरूमा कुशल नेतृत्व गर्नुभएको थियो।

नेता नेपालको योगदानलाई स्मरण गर्दै एमालेले उहाँप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गरेको छ।

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै