• Jana Kura

  • 2025-05-04

 

काठमाडौँ, वैशाख २१ – गृहमन्त्री रमेश लेखकले स्टाफ कलेजमा सुरु गरिएको कोर्सले नेपाल प्रहरीमा सक्षम र असल नेतृत्व विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।

आज काठमाडौँमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यो कार्यक्रमले संगठनलाई पेशागत, प्रतिबद्ध र दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्ने बताउनुभयो।

“यो नेपाल प्रहरीका लागि ऐतिहासिक र महत्वपूर्ण दिन हो। राष्ट्रसेवामा समर्पित प्रहरीको काममा यो नयाँ अध्याय थपिएको छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “कोर्स लागू भएपछि प्रहरी सेवामा सकारात्मक परिवर्तन देखिनेमा म आशावादी छु।”

उहाँले स्टाफ कलेजमार्फत प्रहरीले इमान्दार, समर्पित र सीपयुक्त नेतृत्व प्राप्त गर्ने अपेक्षा राख्न सकिने उल्लेख गर्नुभयो।

यो कोर्स हाल प्रहरी निरीक्षक पदमा विसं २०७० मा भर्ना भएका ब्याचमा लागू गरिएको हो। सो ब्याचका १७ जना अधिकृतले कोर्स उत्तीर्ण गरेका छन्।

प्रहरी संगठनलाई आधुनिक बनाउने, नेतृत्व क्षमता विकास गर्ने र अधिकृतलाई बदलिँदो सुरक्षा चुनौती सामना गर्न तयार पार्ने उद्देश्यसहित स्टाफ कलेज कोर्स सुरु गरिएको प्रहरीको भनाइ छ।

छुटाउनुभयो कि? सबै