काठमाडौं, २१ वैशाख — भारतको उडिसास्थित केआइआइटी (कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी) मा नेपाली विद्यार्थी असुरक्षित भएको भन्दै राष्ट्रियसभाका सांसदहरूले त्यहाँ पढ्न जानेलाई रोक्न सरकारसँग माग गरेका छन्।
सांसदहरूले हालै केआइआइटीमा भएका नेपाली छात्राहरुको शृङ्खलाबद्ध निधनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो अवस्थामा ‘नो अब्जेक्सन लेटर (NOC)’ नदिन सरकारलाई आग्रह गरेका हुन्।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले “अब सरकारले त्यहाँ जान दिने प्रक्रिया रोक्नैपर्छ” भन्नुभयो।
त्यस्तै, नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी साहले अभिभावकहरूलाई पनि सतर्क रहन आग्रह गर्दै केआइआइटीका लागि एनओसी रोक्न माग गर्नुभयो।
अन्य सांसदहरूले घटनाको छानबिन गर्न, दोषीलाई कारबाही गर्न र भविष्यमा यस्ता घटना नदोहोरियोस् भनेर सरकारले गम्भीर कदम चाल्नुपर्ने माग गरेका छन्।
पछिल्लो समय केआइआइटीमा भएका दुःखद घटनापछि नेपाली विद्यार्थी र अभिभावकहरू निकै चिन्तित छन्। सांसदहरूको साझा धारणा भनेको अब सुरक्षाको सुनिश्चितता नभएसम्म त्यहाँ विद्यार्थी पठाइनु हुँदैन भन्ने हो।