भक्तपुर, वैशाख २१ – राष्ट्रिय परीक्षा बोर्डले आजदेखि देशभर एकैसाथ सुरु भएको कक्षा १२ को परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षार्थीहरू निर्धक्क भएर परीक्षा दिन सक्ने वातावरण बनाइएको छ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ भने आगामी जेठ २ गतेसम्म जारी रहनेछ। देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ।
सबैभन्दा धेरै केन्द्र काठमाडौँमा १६२ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक केन्द्र रहेका छन्।
परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिकतर्फ १ लाख १५ हजार ६१७ परीक्षार्थी सहभागी हुँदैछन्। काठमाडौँबाट सबैभन्दा धेरै ६८ हजार १३३ परीक्षार्थी सहभागी हुनेछन् भने मनाङबाट मात्र ४५ परीक्षार्थी छन्।
परीक्षाको सुरक्षाका लागि करिब २० हजार सुरक्षाकर्मी, २ हजार कर्मचारी, र प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी खटाइने व्यवस्था गरिएको छ।
अपाङ्गता भएका परीक्षार्थी, कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो।
परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक अन्यलाई मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ। परीक्षार्थीलाई मोबाइल, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक सामग्री प्रयोग गर्न नदिइने स्पष्ट गरिएको छ।
यदि कसैले परीक्षा मर्यादा उल्लङ्घन गरेमा शिक्षा ऐन, २०२८ अनुसार कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ।
आजको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, र उर्दू व्याकरण विषयको परीक्षा हुँदैछ।
परीक्षामा साधारण, परम्परागत तथा प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।