काठमाडौँ, २१ वैशाख – बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावा, पश्चिमी वायु र स्थानीय वायुले देशको मौसममा परिवर्तन ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी र हिमाली भूभागमा हल्का वर्षा भइरहेकाे छ भने केही स्थानहरूमा हिमपातको पनि सम्भावना देखिएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी प्रदेश र अन्य पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार राति पनि देशको पहाडी क्षेत्र आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना कायम छ।
यस परिवर्तित मौसमसँगै सर्वसाधारणलाई सुरक्षित रहन मौसमको जानकारीमा अपडेट रहन सुझाव दिइएको छ।