काठमाडौं २८ बैशाख /पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरेर अबको बाँकी समय राष्ट्रको सेवा गर्न चाहने कुरा व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “अब मेरो जीवन राष्ट्रको लागि समर्पित हुनेछ।” उहाँले पार्टीहरूको केन्द्रित गतिविधि र दलीय विवादमा भन्दा, हाम्रो राष्ट्रिय आकाङ्क्षा के हो भन्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
उहाँले दलीय व्यवस्थामा साना दलहरूको सत्ताका लागि बार्गेनिङ भइरहने स्थितिमा सुधारको आवश्यकता औँल्याउनुभयो र दिगो राष्ट्रिय सहमति र योजना आवश्यक रहेको बताउनुभयो। साथै, जनताको बढ्दो माग र सुविधाको कुरा गर्दै, राज्यको जिम्मेवारीका क्षेत्रहरूमा सुधार गर्न ध्यान दिनुपर्ने पनि उहाँले जनाउनुभयो।
पूर्वराष्ट्रपतिले मुलुकमा राजनीतिक स्थिरता नआउनुमा निर्वाचन प्रणालीको दोष नहुन र चुनाव जित्ने सबै दलले मिलेर काम गर्दा कुनै समस्या नहुने कुरा उल्लेख गर्नुभयो। उहाँले देशको शिक्षा र स्वास्थ्य क्षेत्र सुधार गर्न आवश्यक रहेको पनि प्रतिवद्धता जनाउनुभयो।