काभ्रेपलाञ्चोक, १८ वैशाख — बुद्ध जयन्तीको पावन अवसरमा ऐतिहासिक पनौती नगरदेखि धार्मिक र पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत शान्ति पदयात्रा आयोजना गरिने भएको छ।
काभ्रे सेवा समाजले वैशाख २९ गते आयोजना गर्न लागेको यस पदयात्राको उद्देश्य शान्ति र सद्भावको सन्देश फैलाउनु, पर्यटन प्रवर्द्धन गर्नु र स्थानीय कला-संस्कृतिको सम्मान र संरक्षण गर्नु हो।
आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिनुहुँदै, पदयात्रा पनौतीको मानेश्वरी मन्दिरबाट सुरु भई सुन्थान, ईंटे, शंखु, शंखेश्वरी, र जङ्गल पार गर्दै नमोबुद्धमा पुगेर टुंगिने जानकारी दिनुभयो। पदयात्रा करिब ९.५ किलोमिटर लामो हुनेछ।
साझेदारी र सहकार्यको भावना बोकेर आयोजित यस कार्यक्रममा सरकारी, गैरसरकारी संस्था, व्यवसायी, सञ्चारकर्मी, कानुन व्यवसायी र सर्वसाधारणसहित करिब एक हजार सहभागी हुने अपेक्षा गरिएको छ।
यस क्षेत्रका धार्मिक, सांस्कृतिक र प्राकृतिक धरोहरको प्रचार-प्रसार गर्दै विश्व सामु चिनाउने लक्ष्यले यो पदयात्रा महत्वपूर्ण हुने विश्वास गरिएको छ।
नमोबुद्ध त्यही स्थल हो जहाँ गौतम बुद्धको पूर्वजन्ममा एक राजकुमारले आफ्नो जीवन त्याग गरी भोकले तड्पिइरहेकी बघिनीलाई जीवनदान दिएका थिए। यही स्थलमा ‘नमो बुद्धाय नमः’ भन्ने मन्त्रबाट नामकरण भएको विश्वास छ।
त्यहाँ आज पनि राजकुमारको सम्झनामा विशाल गुम्बा, चैत्य, मन्दिर र बुद्ध पाठशाला छन्। पनौती वा धुलिखेल हुँदै यहाँ पुग्दा मार्गभर शान्त वातावरण र हिमालको मनोरम दृश्यले मन भर्छ।