काठमाडौँ, १८ वैशाखः आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस, अर्थात् मे दिवस, नेपाललगायत विश्वभरका देशमा विविध कार्यक्रमसहित मनाइँदैछ ।
हरेक वर्ष मे १ तारिखमा मनाइने यो दिवस श्रमिकहरूको सम्मान, पेसागत अधिकार र मर्यादाको प्रतीकका रूपमा लिइन्छ । आफ्ना हक र अधिकार सुनिश्चित गर्न, सरकार र रोजगारदातालाई जिम्मेवार बनाउने उद्देश्यले श्रमिकहरूले यो दिन विशेष कार्यक्रम आयोजना गर्दै आइरहेका छन् ।
यस वर्ष पनि नेपालमा विभिन्न मजदुर सङ्गठनले ¥याली, सभाजस्ता कार्यक्रम गरी मे दिवस मनाइरहेका छन् ।
यो दिवस सन् १८८६ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको श्रमिक आन्दोलनको सम्झनामा मनाइन्छ । ‘आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन’ भन्ने नारासहित सुरु भएको आन्दोलनले श्रमिकका अधिकारका लागि ऐतिहासिक संघर्षको बाटो खोलेको थियो । सो आन्दोलनमा हिंसात्मक झडप हुँदा सातजना श्रमिकले ज्यान गुमाए । तर, आन्दोलन सफल भयो र यही घटनालाई सम्झनाका रूपमा मे दिवस मनाउन थालियो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको श्रमिक नेताहरूको भेलाले मे १ लाई विश्व श्रमिक दिवसको रूपमा मनाउने निर्णय गर्यो ।
नेपालमा पहिलोपटक वि.सं. २०१९ मा मे दिवस मनाइएको मानिन्छ, जसपछिको आन्दोलन र परिवर्तनहरूसँगै यसको महत्व अझ बढ्दै गयो । वि.सं. २०४६ को परिवर्तनपछि यो दिवसलाई सार्वजनिक बिदा दिन थालिएको हो ।
नेपालमा यो दिवस पञ्चायती शासनको विरोधस्वरूप सुरु भएको आन्दोलनबाट भित्रिएको थियो, जुन आज श्रमिक चेतना र एकताको प्रतीक बनेको छ ।