• Jana Kura

  • 2025-04-30

काठमाडौँ, १७ वैशाख — प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र अब कहिल्यै विगतको तानाशाही राजतन्त्रतर्फ फर्किन नसक्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘गणतन्त्र आइसकेपछि पनि केही व्यक्तिहरूले रैती बन्ने चाहना राख्नु’ अचम्मको विषय भएको बताउँदै, यस्ता प्रवृत्तिहरूविरुद्ध सशक्त सांस्कृतिक चेतना फैलाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

“रातको सन्नाटामा केही स्याल कराउँदा वन नै गुन्जिएको जस्तो लाग्न सक्छ, तर तिनको कराहले केही फरक पर्दैन। अब राजा हुने सपना देख्नेहरूका लागि त्यो केवल सपना मात्रै रहनेछ,” उहाँको भनाइ थियो।

प्रधानमन्त्री ओलीले देशको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि सृजनशील अभियानलाई अझ तीव्र बनाउने आह्वान गर्दै भन्नुभयो, “हामी सबैले मिलेर यस्ता प्रतिगामी सोचविरुद्ध सांस्कृतिक ढ्याङ्ग्रो बजाउँदै अघि बढ्नुपर्छ।”

साथै, उहाँले मुलुकको सांस्कृतिक, भाषिक र कलात्मक विविधताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रेरणादायी चलचित्र र नाटक निर्माणमा सृजनशील ऊर्जा लगाउनु पर्नेमा जोड दिनुभयो, र यस्ता सिर्जनामा दर्शकको अभाव कहिल्यै नहुने विश्वास पनि व्यक्त गर्नुभयो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै