काठमाडौं १५ चैत/ राजावादी समर्थकहरूले आज काठमाडौंको तीनकुने क्षेत्रमा उग्र प्रदर्शन गरेका छन्। राजसंस्था पुन:स्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले स्थानीय व्यक्तिका घरहरूमा ढुंगा प्रहार गरी सिसाहरू फुटाइदिएका छन्।
तीनकुने चौरमा जम्मा भएका प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरूले अन्धाधुन्ध ढुंगा प्रहार गरेका थिए, जसका कारण घरभित्र रहेका मानिसहरू त्रसित भएका थिए। एक घरको छतबाट मानिसहरूले प्रहरीको उपस्थिति नभएको भन्दै हातले इशारा गरिरहेका थिए।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो, तर त्यसपछि प्रदर्शनकारीहरू थप उग्र बनेका थिए। चाबहिल, भक्तपुर लगायत चक्रपथका विभिन्न स्थानबाट जुलुस निकालेर तीनकुनेमा भेला भएका राजावादी समर्थकहरूले राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए।
जुलुस तीनकुने पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो।