काठमाडौं मंसिर २७/ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा ललितकला क्याम्पस भोटाहिटीको संयुक्त आयोजनामा बुधवार अग्रज पौभा कलाकार मुक्तिसिंह थापासँग ललितकला संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अग्रज कलाकार मुक्तिसिंह थापाले देशको मौलिक कलालाई विश्वसामु चिनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मौलिक कला हराउँदै गएको हालको अवस्थामा नयाँ पुस्ताले नै कलाक्षेत्रका विकासमा अग्रसरता लिनुपर्ने बताउनुभयो । यस्तै, उहाँले आफ्नो कला तथा कलायात्राका विविध पक्षबारे पनि जानकारी गराउनुभयो ।
विगत ५२ वर्षदेखि कला साधनामा सक्रिय कलाकार थापाले मौलिक नेपाली कलाको खोज, अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले परम्परागत चित्रकलाका क्षेत्रमा कलाकार थापाले पु¥याउनुभएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले परम्परागत कला क्षेत्रमा नेपालको छुट्टै पहिचान रहेकाले कलामार्फत नेपालीपन जोगाउन सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले परम्परागत कलाको विकास र संवर्धनमा प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो । उहाँले अग्रज कलाकार थापाको योगदान कलाक्षेत्रमा विशिष्ट रहेको जनाउँदै मौलिक कलाले नेपाललाई विश्वमा चिनाउन सकेको धारणा राख्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले परम्परागत कलाका विषयमा अध्ययन गर्न चाहने नयाँ पुस्तालाई पुस्तक तथा स्रोतहरूको अभाव रहेको बताउनुभएको थियो । यसको प्रतिउत्तरमा कलाकार थापाले परम्परागत कला अन्य कलाजस्तो तुरुन्तै सिकिने कला नभएकाले यसका लागि धैर्य र तपस्याको जरुरी रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यापारको हिसाबले हाम्रो कला बिक्ने भनेको सस्तो र राम्रो लागेर मात्रै हो ।’
कार्यक्रममा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, प्राज्ञसभा सदस्य सुन्दर सिंख्वाल, झिग्मे लामा, ललितकला क्याम्पसका उपप्राध्यापक सङ्गीता घिमिरे, नेमबहादुर तामाङ, ओम खत्री, चित्रकला विभाग प्रमुख जस्मिन राजभण्डारी, ललितकला क्याम्पसका स्ववियु सभापति सुजन श्रेष्ठ, कलाकार रामप्रकाश श्रेष्ठ, राजकुमार रानामगर, मिङ्मा लामा, बुद्ध योञ्जन, सुर्जमुनि शाक्यलगायतसँगै १०० जनाभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।
#nepalacademyoffinearts
फाेटाे फिचर
