काठमाडौँ, १२ मङ्सिर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभएको छ । काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभयो । सभापति देउवाले भन्नुभयो, “नेपालको सवालमा ठूलो सङ्ख्यामा युवा अवसरको खोजीमा अन्यत्र सर्नेक्रम देखिएको छ । हामी एक्लैलेमात्र उनीहरूको ऊर्जा, उत्पादनशीलता, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छैनौँ ।
युवापुस्ता राम्रो आम्दानीको स्रोतको खोजीमा बाहिर बसाइँ सर्दैछन् । त्यसैले एसियाको धेरै खालको विकासको अवधारणामा साझा व्यवस्थापनको खाँचो रहेको छ ।” उहाँले युवालाई आवश्यकताअनुसार उद्यमशीलतामा जोड्न नसकिए अझै युवा विदेशिनेक्रम बढ्ने पनि बताउनुभयो । सभापति देउवाले विभिन्न सामाजिक मुद्दाहरूले भविष्यलाई नै चुनौती सिर्जना गरिरहेका सन्दर्भ जोड्दै बालविवाह, पोषण, शिक्षा आदिले समाजलाई प्रभाव पारिरहेको बताउनुभयो । विश्वमा भइरहेको तापक्रम वृद्धि तथा जलवायु परिवर्तनका मुद्दाले पहिल्यै कायम रहेका समस्याहरूलाई थप बढावा दिइरहेको उल्लेख गर्दै उहाँले यस सम्मेलनले ती चुनौतीलाई पार गर्न प्रभावकारी मार्गनिर्देशनहरू दिन्छ भन्ने आशा राखेको बताउनुभयो । यस सम्मेलनले एसिया क्षेत्रमा देखिएको जनसाङ्ख्यिक सङ्क्रमघणलाई व्यवस्थापन गर्न पनि आवश्यक पहल लिने अपेक्षा रहेको उहाँले बताउनुभयो ।