• 2024-08-28

काठमाडौँ, १२ भदौ :  नेपाललाई हराउँदै बङ्गलादेशले साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपालमाथि ४–१ गोलको जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि दुईपटक २०१९ र सन् २०२२ मा भएको साफ फाइनलमा पुगेको बङ्गलादेश दुवै पटक पराजित हुँदै उपविजेतामै सिमित बनेको थियो ।

खेलमा बङ्गलादेशका मिराजुल स्लामले दुई गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोभाले समान एक–एक गोल गरे । खेलको पहिलो हाफको अतिरिक्त समयमा मिराजुलले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५५औँ मिनेटमा अस्दुल मोल्लाले दिएको पासलाई सदुपयोग गर्दै मिराजुलले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७१औँ मिनेटमा बङ्गलादेशका अर्का खेलाडी रब्बीले गोल गर्दै टोलीलाई तेस्रो अग्रता दिलाए ।

त्यस्तै, खेलको ८१औँ मिनेटमा नेपालका समीर तामाङले गोल गरे । बङ्गलादेशका गोल किपर अगाडि गएको अवस्थामा सान्त्वना गोल गरे ।

यसैगरी, बङ्गलादेशका अर्का खेलाडी नोभाले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक गोल थपे । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः बङ्गलादेशले नेपालमाथि ४–१ को ऐतिहासिक जित हासिल ग¥यो । हारसँगै साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्ने नेपालको सपना अधुरै रहन पुगेको छ ।

यस अघि नेपालले सन् २०१७ मा भूटानमा आयोजना भएको साफ यू–१८ च्याम्पियनशिपमा पनि नेपालले उपाधि जितेको थियो । त्यतिबेला राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपालले शीर्ष स्थानमा रहँदै प्रतियोगिताको उपाधि जितेको थियो ।

यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का, भारत, माल्दिभ्स र भूटानले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तालिका थियो तर वर्षाका कारण खेलमैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिताको सम्पूर्ण खेल सातदोबाटोमा खेलाइएको हो । विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुल परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलगायतले पुरस्कार वितरण गरेका थिए ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै