❝ साउथ एसियन ट्राभल अवार्ड्स (साट्टा) नेपालमा हुँदै ❞
2024-07-08
काठमाडौँ, २४ असार : साउथ एसियन ट्राभल अवार्ड्स (साट्टा) को आठौँ संस्करण नेपालमा आयोजना हुने भएको छ । आगामी असोज ३ र ४ गते काठमाडौँमा हुने उक्त अवार्ड समारोहमा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता रहने आयोजकले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सन् २०२४ का लागि अवार्डसम्बन्धी कार्यक्रमको सूची सार्वजनिक गर्दै आयोजकले विभिन्न ४४ विधामा अवार्ड दिइने जनाएको छ । कार्यक्रमको होटल पार्टनरका रूपमा द मल्ल होटल र एलफ्ट होटल रहेका छन् । साट्टाले साउथ एसिया क्षेत्रभरि आतिथ्य क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्नेहरूलाई सम्मान गर्दै आएको छ । नेपाल पर्यटन बोर्ड र होटल सङ्घ नेपालको सहयोगमा हुने अवार्ड कार्यक्रममा व्यावसायिक साझेदारबीच व्यापार आदान–प्रदानसमेत आयोजकले जनाएको छ । “यो कार्यक्रमले दक्षिण एसियाली आतिथ्य क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने र पुरस्कृत गर्नेछ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ ।