❝ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालक कारबाहीमा ❞
2024-06-09
काठमाडौँ, २७ जेठ : ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, मादक पदार्थ सेवन, जथाभावी हर्नलगायत विभिन्न कसुरमा ती सवारीचालकहरुलाई कारबाही गर्दा रु ५७ करोड ८४ लाख १९ हजार राजस्व सङ्कलन गरिएको जानकारी दिनुभयो । कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार ८३, तीव्र गतिमा सवारी चलाउने एक लाख आठ हजार आठ सय ३४, रातो बत्ती बलेको बेला सवारी चलाउने २६ हजार एक सय ३६ सवारीचालक रहेका छन् ।