❝ सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ❞
2024-05-21
काठमाडौँ, ८ जेठ : सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । एपिएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उहाँले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथा आरोहण गर्न सफल हुनुभएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । इलाइट एक्सपेड नेपाल एपिएफ एभरेष्ट एक्सपीडिसन नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रालिमार्फत निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत ३० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँले यस बीचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गर्नुभएको थियो । एपिएफले उत्तरतर्फको कठिन भूगोलमा समेत आफ्नो उपस्थिति जनाउँदै लगेको अवस्थामा यस आरोहणले आगामी दिनमा हिमाली भेगमा हुने विपद् व्यवस्थापन कार्यमा समेत सहयोग पुग्ने सङ्गठनले अपेक्षा लिएको जनाएको छ । हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एपिएफले पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरिसकिएको छ । यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएअनुरुप सगरमाथाको सफल आरोहणले त्यस प्रकारका तालिमलाई समेत गुणस्तरीय बनाउन मद्दत पुग्ने जनाइएको छ । सगरमाथा सीमा क्षेत्रसमेत रहेकाले नेपालको होचो भू–भाग झापा जिल्लाको केचनाकवलदेखि सीमाको अधिकतम उचाइसम्म सशस्त्र प्रहरी बलको उपस्थितिको रुपमा समेत सङ्गठनले लिएको छ ।