काठमाडौँ, ३ जेठ : आज ३१ औँ मदन–आश्रित स्मृति दिवस मनाइँदैछ । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उहाँहरूले गर्नुभएको योगदानको स्मरण गर्दै आज मनाइँदैछ । कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।मदन–आश्रित स्मृति दिवसका अवसरमा आज एमाले र एमालेका भातृ सङ्गठनहरुले विभिन्न कार्यक्रम गर्दै छन् ।यस्तै, एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजवादीले पनि मदन–आश्रित स्मृति दिवसका अवसरमा कार्यक्रम गर्दैछ ।