❝ आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री दाहाल ❞
2024-05-08
काठमाडौँ, २६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा आज मूलकोटमा आयोजित कार्यकर्ता भेटमा उहाँले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ ।” आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउनुहुँदै उहाँले समाजवादको आधार तयार गर्ने बताउनुभयो । नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिनुहुँदै उहाँले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाउनुभयो । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताउनुभयो । वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उहाँको भनाइ छ ।