काठमाडौँ, १० वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो । त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ । नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको हो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव हुनुहुन्थ्यो । नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो । स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन्् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन् । मुलुकको एक प्रमुख कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) का अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ ।