❝ ‘प्रथम नेसनल हर्टीकल्चर एक्स्पो–२०८०’ आयोजना हुने ❞
2024-03-26
काठमाडौँ, १३ चैत : ‘प्रथम नेसनल हर्टीकल्चर एक्स्पो–२०८०’ आयोजना हुने भएको छ ।नर्सरी व्यवसायी सङ्घको आयोजनामा यही चैत १६ देखि १९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सो मेला तथा प्रदर्शनीको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । यस मेलामा देशभरबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिने मेला संयोजकसमेत रहेका सङ्घका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले जनाएको छ । सो प्रदर्शनीमा मलखाद, अग्र्यानिक एवं रासायनिक विषादी, बीउबिजन, औजार उपकरण तथा प्रविधिको समेत स्टल रहनेछ । प्रदर्शनीमा ७४ वटा व्यावसायिक स्टल राखिने पनि सो अवसरमा जानकारी दिइयो । मेलामा कम्तीमा ५० हजार जनाले अवलोकन गर्ने र एक करोडभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान रहेको छ । मेला अवलोकन गर्न दस्तुरको पनि व्यवस्था गरिएको छ । वरिष्ठ उपाध्यक्ष कुँवरले भन्नुभयो, “व्यवसायीहरुको क्षमता तथा सीप विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई उनीहरुकै हौसला बढाउन राम्रा प्रतिस्पर्धीलाई शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने तथा नर्सरी व्यवसायीमध्येबाट एक जनालाई वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मानद्वारा सम्मान गरिनेछ ।” यसैगरी प्रतिस्पर्धीहरुको मूल्याङ्कन गर्न कृषि बागवानी, वनस्पति माटो तथा पर्यावरण विज्ञसहितको संलग्नतामा तीन सदस्यीय मूल्याङ्कन समितिसमेत गठन गरिएको जानकारी पनि सो सङ्घले दिएको छ ।तस्वीर : हरिराम भेटुवाल/ रासस