काठमाडौँ, ११ चैत : नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सुहाङ नेम्बाङ सोही क्षेत्रका एमाले नेता सुवास नेम्बाङका कान्छा छोरा हुनुहुन्छ । सुवासको मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यसैगरी बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यी दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ ।