• 2024-03-11

    काठमाडौँ फाल्गुन २८ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग तथा कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा आइतबारबाट ‘नेपाली क्यारिकेचर २०८० प्रदर्शनी’ को सुरु भएको छ । प्रदर्शनीको अग्रज कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ ले उद्घाटन गर्नुभयो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले २०७४ सालदेखि यस प्रदर्शनी सञ्चालन भइरहेको बताउनुभयो । उहाँले कार्टुन÷क्यारिकेचर कलालाई अझ विकास गर्न जरुरी रहेको बताउँदै यस किसिमको कार्यक्रमलाई व्यवस्थित र उत्कृष्ट बनाउन सबैबाट सहयोग हुनुपर्ने बताउनुभयो । प्रतियोगितामा सहभागी ३३ कलाकृतिहरूमा छनोट तथा मूल्याङ्कन मापडण्दभित्र परेका प्रतियोगी कलाकृतिहरूमध्ये ३ जनालाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरियो । जसमध्ये प्रथम पुरस्कार अनुप गुरुङ (कुलदिप जंगबहादुर गुरुङ), द्वितीय पुरस्कार अनिशा भण्डारी र तृतीय पुरस्कार विश्व थापामगरले पाउन सफल हुनुभएको हो ।

    प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशी क्रमशः १५ हजार, १२ हजार र ८ हजार रहेको छ । कार्यक्रममा कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले ‘नेपाली क्यारिकेचर ः काठको ब्लकदेखि एआईसम्म’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले क्यारिकेचरको प्रारम्भिक कला, आधुनिक काल, प्रविधि र प्रवृत्ति, एआईः अवसर कि चुनौतीलगायतका पाटोको चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘काठको ब्लक प्रविधिदेखि अहिले एआईसम्मको यात्रामा नेपाली क्यारिकेचरले अनेक आयामहरु पार गरिसके पनि धेरैजसो नेपाली क्यारिकेचर कलाकारहरुमा चित्तबुझ्दो पारङ्गतता देखिएको छ । पारङ्गत कलाकारिताविना क्यारिकेचर कलाको सिर्जना गर्न सकिँदैन ।’ कार्यपत्रमाथि टिप्पणी गर्दै कलाकार रविन्द्र मानन्धरले क्यारिकेचरको इतिहासदेखि वर्तमानसम्मको पाटोलाई निकै सरल ढंगले प्रस्तुत गरेको बताउनुभयो ।

    उहाँले नेपालमा क्यारिकेचरको विकासमा अग्रजको योगदानलाई समेत कार्यपत्रमा संक्षिप्त रुपमै भए पनि राखिएको सुनाउनुभयो । कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले नेपालमा क्यारिकेचरलाई माथि उठाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले क्यारिकेचरले व्यावसायिकदेखि अन्य विविध क्षेत्रमा करिअर नै बनाउनसमेत सक्ने ठूलो सम्भावना रहेको धारणा राख्नुभयो । प्रदर्शनीमा अविन श्रेष्ठ, अकृन अधिकारी, अनिसा भण्डारी, अनुप गुरूङ, अर्पिता शाक्य, अशोकमान सिं, वामन चालिसे, बासु क्षितिज, भानु भट्टराई, विनय भण्डारी, विश्व थापा, चेतन गौतम, देवेन्द्र थुम्केली, हरिशरण ढुङ्गाना, केशवराज खनाल, महेश बस्ताकोटी, मनरा प्रजापति, एन.बि गुरूङ, पल्पासा मानन्धर, पानसिंह तमोर, रवि मिश्र, रविन सायमी, रविन्द्र मानन्धर, रामहरि रिमाल, राजेश मानन्धर, रामकृष्ण थापा, सविना रिजाल, सानुराज डंगोल, सागर शाह, सुजिता महर्जन, सुदर्शन सिग्देल, सौरभ कोइराला, उमेशचन्द्र अधिकारी लगायतको सहभागिता रहेको छ । प्रदर्शनी चैत १ गतेसम्म सञ्चालन हुनेछ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै