• 2024-03-07

    काठमाडौं २४ फागुन।सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्न नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिनुभएको छ ।नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुधबार पदभार ग्रहणपछि मन्त्रालय मातहत निकायका कर्मचारीहरुलाई निर्देशन दिँदै  देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारको नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बुधबार पदबहाली गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ।” गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न निर्देशन दिनुभयो । “नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा महसुस हुनुपर्छ, सोहीअनुसार काम गर्नु होला” उहाँले भन्नुभयो । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि गृह मन्त्रालय पुग्नुभएका उहाँलाई गृहसचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु आर्याल लगायत उच्च अधिकारीले स्वागत गर्नुभयो ।तस्बिर : विमलबहादुर बिष्ट / रासस

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै