❝ अवैधानिकरुपमा सञ्चालित बालगृहको छानबिन गरी दोषीलाई कारबाही गर्न आयोगको ध्यानाकर्षण ❞
2024-01-25
काठमाडौँ, ११ माघ : राष्ट्रिय महिला आयोगले अवैधानिकरुपमा सञ्चालित बालगृहको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालित बालगृहमा आश्रित बालबालिकालाई बेवारिसे, असुरक्षित अवस्थामा रहेको भन्दै व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएको हो । गोकर्णेश्वर नगरपालिकास्थित लवप्रसाद सुधार सङ्घ (लव प्र.बाल गृह)ले न्यूनतम मापदण्ड पूरा नगरी आधिकारिकता बिना सञ्चालन गरेको र बालगृहमा आश्रित बालबालिकालाई बेवारिसे, असुरक्षित अवस्थामा रहेको सूचनाका आधारमा यही मङ्सिर ५ मा अनुगमन गरी सम्बन्धित निकायमा बालबालिकाको तत्काल उद्धार गर्न सिफारिस गरी उद्धारमा पहल गरेको थियो । अनुगमनपछि आयोगले तयार पारेको प्रतिवेदनमा उक्त गृहले बालबालिकालाई मानसिक, शारीरिक तथा यौनजन्य आपराधिक कार्यमा संलग्न गराएको उल्लेख गरेको छ ।