काठमाडौं २९ पुस / राजीव विक्रम महर्जनसहितको अगुवाइमा स्थापित गल्ली म्यापले स्टार्टअप अवार्ड जितेको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको युवा उद्यमीहरुको संस्था नेपाल यु्वा उद्यमी फोरम (एनवाइइएफ) ले आयोजना गरेको स्टार्टअप प्रतियोगिताको फाइनलमा पुगेका सात प्रतिस्पर्धीमध्ये गल्ली म्यापले ४ लाख नगदसहित स्टार्टअप अवार्ड जितेको हो । गल्ली एक्सप्रेस प्रालिले नेपालका घर नम्बरसहितको सबै स्थानका विस्तृत नक्सांकन गरेको छ । यी विस्तृत नक्साको मद्दतले वस्तु तथा सेवाको प्रवाहमा सहजीकरण गर्न सकिने महर्जनले बताए । कोरोना महामारीको बेलामा आफुले घरमा सामान अर्डर गरेपछि डेलिभरी गर्नेलाई असहज भएको कारण वस्तु तथा सेवाको निर्वाध तथा सहज प्रवाहमा गल्ली म्यापले सहजीकरण्न गर्ने उनको भनाइ छ ।
आफनो स्टार्टअपको बारेमा पाँच मिनेटको प्रस्तुतीपछि फाइनलिस्टहरुले जजका विभिन्न प्रश्नका उत्तर दिँदै आफनो ब्यवसाय तथा भविष्यको योजनाको बारेमा स्पष्ट पारेका थिए । सातजना फाइनलिस्टलाई भायनेटकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक, लक्ष्मी समूहका कार्यकारी निर्दशक निरन्जन श्रेष्ठ र लोटस होल्डिंग्स्का प्रमुख कार्यकारी अजित शाहले विभिन्न प्रश्नहरु गरेका थिए ।सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले प्रायोजन गरेको कार्यक्रममा एनएमबी बैंक सहआयोजक रहेको थियो भने नेपाल उद्योग वाणिज्य महासंघ, एपेक्स कलेज, एडेक्सलगायतका संस्थाले उद्यमशीलताको प्रबद्र्धनमा एनवाइइएफसँग सहकार्य गरेका थिए । एनवाइइएफले नेपालमा उद्यमशीलताको प्रबद्र्धन गर्न स्टार्टहअपलाई विगत तीन वर्षदेखि सहयोग गर्दै आइरहेको छ ।

यसैगरि, क्विकफक्स कन्सल्टिंग र पेटमामा नेपालले फस्ट रनरअपको रुपमा २ लाख नगद पुरस्कार बाँडेका छन् । क्विकफक्स कन्सल्टिंगले कम्पनीहरुमा कम मानव संशाधन तथा खर्चमा चुस्त सेवा प्रवाह गर्न मद्दत गर्दछ भने पेटमामा नेपालले कुकुर तथा विरालो जस्ता घरपालुवा जनावरको लागी सम्पूर्ण सेवा प्रवाह गर्दछ । पेटमामा नेपालले ५० हजार नगदसहित अडियन्स च्वाइस अवार्ड पनि हात पारेको छ । यसैगरि, स्टार्टअप भएपनि समाजमा राम्रो योगदान दिनसक्ने आधारमा दूरशिक्षा एडुकेसनले ५० हजार नगदसहित सम्मान प्राप्त गरेको छ ।पाँच महिना अगाडि सुरु भएको स्टार्टअप अवार्डको फाइनलमा मुख्य सचिव डा बैकुण्ड अर्याल प्रमुख अतिथी रहेका थिए भने स्टार्टअपहरुको हौसला बढाउन महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, निवर्तमान अध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु सुरकृष्ण बैद्य तथा ज्योत्स्ना श्रेष्ठ र पूर्व अध्यक्ष पशुपती मुरारकासहित महासंघका विभिन्न पदाधिकारीहरु उपस्थित थिए ।