❝ मौलिक कला संस्कृतिलाई जोगाउन सकेमा मात्र देशलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिने:मन्त्री किराती ❞
2023-12-15
काठमाडौँ, २९ मङ्सिर :नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभा शुक्रबारबाट सुरु भएको छ । सभाको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको मौलिक कला संस्कृतिलाई जोगाउन सकेमा मात्र देशलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । मन्त्री किरातीले नेपालका विभिन्न भेगमा छरिएर रहेका मौलिक कला तथा सम्पदा जोगाउन सकेमा पर्यटन क्षेत्रको विकास अझ सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कला, संस्कृतिको उत्थानका लागि प्राज्ञिक क्षेत्रको विशेष योगदानको अपेक्षा सरकारले गरेको छ ।”उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले भाषा र लिपिको आविष्कारभन्दा पहिला कलाको विकास भएको कुरा बताउनुभयो । यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले २०६४ को ऐनबाट सञ्चालित तीनवटै एकेडेमीले काम गरिरहेको तर २०७२ को संविधानपछि प्राज्ञिक काम र तीनका अधिकार प्रदेशमा पनि गएको प्रसङ्ग जोड्दै कसले कति काम गर्र्नेे अन्योलको स्थिति रहेको बताउनुभयो र यसलाई व्यवस्थित र सजिलो कसरी बनाउने भन्ने विषयमा छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठान अनुसन्धान, सृजना र सम्मानलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै सृजनात्मक गधिविधि विस्तारमा प्रतिष्ठानले हरसम्भव प्रयास गरिरहेको जानकारी दिनुभयो । प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले २०६४ को ऐनबाट सञ्चालित तीनवटै प्रतिस्थानले काम गरिरहेको तर २०७२ को संविधानपछि प्राज्ञिक काम र तिनका अधिकार प्रदेशमा पनि प्रत्यायोजन गरिएको बताउनुभयो ।यसै गरी सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राई सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति रागिनी उपाध्यायले १५ औँ प्राज्ञ सभालाई शुभकामना दिँदै प्रतिष्ठानले आगामी दिनमा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय कलासम्मेलन÷प्रदर्शनी जस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान तथा यसबारे पहल गर्न पूर्वकुलपतिको हिसाबले म आफूले सकेको सहयोग गर्छु ।’ प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्यायले प्रतिष्ठानले आगामी दिनमा राष्ट्रियसँगै अन्तरराष्ट्रिय कलासम्मेलन आयोजना गर्न सुझाव दिनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले संस्कृतिको सैद्धान्तिकरण गर्ने र नेपाली कलाको विषयमा देखिएका समस्यालाई एकीकृत रूपले नीति बनाएर अघि बढ्ने कुरा बताउनुभयो । उपकुलपति लालकाजी लामाले १५ औँ प्राज्ञ सभा विशेषतः नीतिनिर्माण र पुनर्जागरणका लागि आगामी रोड म्याप तयार गर्ने र रैथाने कला तथा ज्ञानलाई अघि बढाउँदै लैजाने कुरामा केन्द्रित हुने बताउनुभयो । कार्यक्रमको समापन गर्दै कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठान अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै कला÷सिर्जनालाई सामजिकीरण गर्न आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, पूर्व कुलपति, उपकुलपति, मानार्थ सदस्य, अग्रज कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो । उद्घाटनपश्चात प्राज्ञसभाको बन्दसत्र सुरू भएको छ । प्राज्ञसभा शनिबार समापन हुनेछ ।