• 2023-12-08

काठमाडौं २२ मंसिर  : नेपाल हस्तकला महासंघले आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर २८ गतेबाट हुने भएको छ । मेला मंसिर २८ गतेदेखि पाँच दिनसम्म काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुने महासंघले जनाएको छ । हस्तकला मेलाको यो २०औं संस्करण हो भने हस्तकला प्रतियोगिताको १८ औं संस्करण हो । मेला मंसिर २८ गतेदेखि पुस २ गते (सन् २०२३ को डिसेम्बर १४ देखि १८) सम्म सञ्चालन हुनेछ । नेपाली हस्तकलाजन्य वस्तुहरुको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले वर्षेनी यो मेला आयोजना गर्दै आएको छ । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्याउने मेलाको लक्ष्य रहेको छ । मेलामा हस्तकलाका वस्तुहरुको करिब १२५ वटा स्टलहरु रहने आयोजकले जनाएको छ । मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका मुलुकबाट पनि सहभागिता रहने महासंघले जनाएको छ । महासंघ अध्यक्ष प्रचण्ड शाक्यका अनुसार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामग्रीका स्टल रहनेछन् । यस्तै, प्राकृतिक रेसा र बाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा बिक्रीमा रहने उनले बताए । एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री हुने मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन हुने उल्लेख छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै