❝ नियम उल्लङ्घन गर्नेविरुद्ध ट्राफिक कारबाही अभियान तीव्र ❞
2023-10-31
काठमाडौँ, १४ कात्तिक : नियम उल्लङ्घन गर्नेविरुद्ध काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरिएको जनाएको छ । प्रहरीले सोमबार बिहानदेखि आज बिहान ६ः०० बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको जनाएको छ । यस्तै लेन मिच्ने २१, रेडलाइट क्रस गर्ने १२, अनावश्यकरूपमा हर्ज बजाउने १७, नम्बरप्लेट नराखी सवारी चलाउने १५ र तीव्रगतिमा गाडी चलाउने तीन सय २१ जना चालक कारबाहीमा परेका छन् ।ट्राफिक प्रहरी कार्यालयका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरेको जानकारी दिनुभयो । प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मतरूपमा सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।