• 2020-10-12

 

अर्जुनचौपारी ३ स्याङ्जाका देवेन्द्र थुम्केली पछिल्लो पुस्ताका चर्चित चित्रकार तथा कार्टुनिष्ट हुन् । पछिल्लो समय उनी कलालेखन, कला पत्रकारिता, कार्टुन, कला विषय पढाउने लगायतका काममा सक्रिय छन् । अहिले उनी सौर्य दैनिक पत्रिकाका लागि चित्र तथा कार्टुनहरु कोर्ने गर्दछन् ।

अनौपचारिक रुपमा सानैदेखि चित्र बनाउन थालेका उनले स्कुल जाने प्रारम्भका दिनदेखि नै चित्रहरु कोर्ने गर्दथे ।
‘ढुंगाका स्लेट, घरका भित्ता, कागज आदिमा चक, खरी, पेन्सिल, कलम आदिले चित्र कोरेको स्मृति अझै ताजै छ,’ उनी भन्छन्, ‘पछि पुस्तक/किताबमा छापिएका चित्र (इलुस्ट्रेसन) को कपी गर्दै चित्र बनाउन थालेको हुँ ।’

औपचारिक रुपमा भने उनले ललितकला क्याम्पसमा अध्ययन थालेपछि कलाको पूर्णकालीन विद्यार्थी भएर काम गरिरहेका छन् ।
थुम्केलीलाई चित्र कोर्नका लागि प्रकृति, संस्कृति र अहिलेको जनजीवनले आकर्षित गर्दछन् । यिनै कुराहरु उनलाई चित्र कोर्नका लागि प्रेरणा दिन्छन् । उनी थप्छन्, ‘कलाप्रति ममा सानैदेखि हुटहुटी जगाउनेहरूमा दाइहरु पूर्ण काफ्ले, ध्रुव काफ्ले, बाआमा तथा मेरो आदरणीय व्यक्तित्व मोती शर्मा रेग्मी लगायत हुनुहुन्छ । उहाँहरूको सल्लाह, सुझाव र प्रेरणाले म अहिले यस क्षेत्रमै टिकिरहेको छु ।’

देवेन्द्र थुम्केली
सान्दर्भिक पोस्ट

आईए पढ्ने क्रममा मात्रै चित्र, मूर्तिकला पनि पढाइ हुन्छ भन्ने कुरा थुम्केलीले थाहा पाए र त्यो पढाइ सकेपछि ललितकला क्याम्पस भोटाहिटीमा पढ्नका लागि भर्ना भए । उनी भन्छन्, ‘खासमा मलाई स्कुलका किताबमा छापिएका चित्रहरुले यस क्षेत्रमा रुचि जागरण गरेको हो ।’

सुरुमा उनले दृश्यचित्र बनाए । विभिन्न स्थानमा पुगेर उनी दृश्यचित्रहरु बनाउँथे । त्यसपछि उनले २०५८ सालतिर साप्ताहिक पत्रिकामा कार्टुन बनाउन थाले । चित्र तथा कार्टुनहरु कोर्दै जाने क्रममा उनी कला प्रदर्शनीमा सहभागी हुने, कार्यशाला लगायतमा चित्र बनाउन थाले । उनी भन्छन्, ‘चित्रहरु कोर्दै जाने क्रममा मेरा कलाहरुमा वैचारिक तथा समाज र राजनीतिसँग सरोकार राख्ने चित्रको बारेमा परिचर्चा भएको पाएको छु । यही एउटा कलाकृतिभन्दा पनि विषयप्रधान कलाका बारेमा चासो राख्ने पारखी भेटेको छु । मैले पुँजीवाद र यसको चरित्रका बारेमा बनाएका चित्रप्रति बढी चासो राखेको पाएको छु ।’

थुम्केली चित्रहरु कोर्नुअघि पहिला दिमागमा कलाकृतिको विषयप्रति घोत्लिने, त्यसका आयाम र प्रभावको खोजी गरेपछि आकार कोर्ने गर्दछन् । त्यसपछि सामाजिक, राजनीतिक तथा समकालीन परिवेशका विषयलाई कलात्मक रुपमा उतार्ने उनको कोशिस रहन्छ ।

कलाक्षेत्रको बारेमा थुम्केलीको अलि फरक धारणा छ । उनी भन्छन्, ‘कला सिर्जनात्मक क्षेत्र हो । यो मौलिक पहिचानको क्षेत्र पनि हो । कलाकारको भाव सम्प्रेषण गर्ने सशक्त माध्यम हो । कला व्यक्तित्वलाई प्रस्फुटन गर्ने एक सबल र प्रभावकारी माध्यम पनि हो । अझ सरल रुपमा भन्नुपर्दा कला दृश्यभाषा हो । जसलाई बुझ्न भर्वल भाषाको जरुरी नै हुँदैन, संसारका जुनसुकै स्थानका मानिसले बुझ्ने विश्वभाषा हो ।’

उनले आफ्ना चित्रहरुमा मानव, राजनीति तथा समाजका यथार्थ परिघटनाका विषयलाई आफ्नो कलाको विषयमा उतार्ने कोसिस गर्छन् ।

ऋतु काफ्ले

‘मानिसका चरित्र र स्वभाव जसमा आवरणमा जस्तो रुप हुन्छ अन्तर्यमा मानिसलाई अहिलेको परिवेशले त्यस्तो हुन नदिएको विषय जुन मेरो मास्क शृंखलामा देखाउने प्रयत्न गरेको हुन्छु’, उनले भने, ‘त्यस्तै सामाजिक विषय, आशा र उज्यालो भविष्यसँग सम्बन्धित विषय, न्यायसहितको लक्ष्य हासिल गर्नुपर्छ भन्ने मान्यता राख्ने कलाकृति बनाउन मलाई प्रायः हुटहुटी चलिरहन्छ । कति चित्र प्रभावित भएर पनि बनाएको छु ।’

खासगरी उनलाई असमानता, विभेद, राजनीति, शासन लगायतका सामाजिक विषयले चित्र कोर्नका लागि अलि बढी आकर्षित गर्ने गर्दछ ।

चित्र कोर्ने समय उनी विषय र त्यसको प्रभावलाई बढी ध्यान दिने गर्छन् ।

अहिलेसम्म थुम्केलीले आफ्नै गाउँ, जिल्ला, नवलपरासी तथा राजधानीमा गरी सात पटक एकल प्रदर्शनी गरेका छन् । उनले सामूहिक कला प्रदर्शनी देश विदेशका विभिन्न स्थानमा दर्जनौं पटक गरिसकेको र यो क्रम जारी नै रहेको बताए ।

उनी आफ्ना चित्रहरुमा आफूलाई अनुकूल र परिवेश अनुसार सुहाउने रङको प्रयोग गर्छन् । ‘रङ त अभिव्यक्त गर्ने माध्यम मात्रै हो’, उनी भन्छन्, ‘कलामा रङको महत्त्व पनि विशिष्ट हुने भएकाले घटना, परिवेश र त्यसका आयामलाई मूल्यांकन गरेर तिनको सामाजिक, सांस्कृतिक तथा राजनीतिक मनोविज्ञान झल्काउने रङको प्रयोग गर्न रुचाउँछु ।’

त्यस्तै, पछिल्लो समय उनी कलासम्बन्धी विभिन्न संघसंस्थामा आबद्ध रहेका छन् । साथै नेपालका मौलिक कला शैलीजस्तो परम्परागत तथा लोककलाको शैक्षिक रुपमा अध्ययन अध्यापन गर्नुपर्दछ, यिनको विकासका निम्ति राज्यले काम गर्नुपर्छ भन्ने मान्यता राखेर बेलाबेलामा बहस लगायतका काम पनि सक्रिय हुने कोसिस गरिरहेको उनले बताए ।

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै