❝ टोखामा पाहां चःर्हे जात्रा (पटुछि मला जात्रा ) सम्पन्न ❞
2024-04-09
चैत्र २७,२०८० काठमाडौं /ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा पाँहाचर्हे’ जात्रा (पुटुछि मला जात्रा ) सम्पन्न भएको छ ।नेवार समुदायको बाहुल्यता रहेको टोखामा चैत २५ देखि २७ गतेसम्म ‘पाँहाचर्हे’ जात्रा मनाएको हो ।नेवार समुदायले प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमा देवी (संकटा) र लुकुमहा द्यः (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चःर्हे मनाइने गरिन्छ । यस दिनलाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ ।आमा संकटालाई छोरा विनायकले ढोग्ने यस जात्रालाई रथ जुधाउने जात्रा पनि भनिन्छ । यो जात्रा पहिले पहिले विहान सबेरै शुरू गरी यति चॉडै सम्पन्न हुन्थ्यो कि यो जात्राको नाम नै “ पटुछि मला जात्रा “ अर्थात् दौराको तुनै बाँध्न नभ्याइने जात्रा रहेको स्थानीय टोखाका मूल नाइके हेमराज श्रेष्ठले बताउनुभयो । घोडेजात्राका दिन साँझ ६ः३० बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याई छ जना डंगोल परिवारका कुमार र चार कुमारीलाई मरजा (भात) खुवाएको हो । सपनविनायकमा भने दुई कुमारलाई मरजा खुवाउने प्रचलन रहेको छ । सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ ।
सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन रहेको छ । आज जात्राको अन्तिम दिन बिहान ७ बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँच वटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो)मा लगेर सपनविनायकले सङ्कटालाई तीन पटक ढोगाएको हो । योसींमा नागको प्रतीकका रूपमा थने लाछीमा उठाइएको ७५ हात अग्लो योसीं -लिंगोमा हलपत्ता टुप्पा देखि तलसम्म झर्ने पताका हलपत्तामा ३३ कोटी देवी देवताका चित्रहरू अंकित लहराएको योसींलाई संकटामाई , योसीं तथा सपना विनायकलाई एउटै परिवार मानी विनायकले आमालाई भेट गर्न आउने , ढोग्ने तथा सम्पूर्ण परिवार भेंट हुने अवसरको रूपमा विनायक र सङ्कटा अजिमाका रथलाई सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वर योसींलाई तीन पटक परिक्रमा गराएर पाहां चःर्हे जात्रा सम्पन्न गरेको हो ।