❝ निर्वाचन कानुन संशोधन विधेयक सर्वसम्मत पारित, समावेशितामा थप बहस ❞
Jana Kura
2026-05-26
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा ले निर्वाचनसम्बन्धी दुई महत्त्वपूर्ण विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री, गृहमन्त्री तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तनमन्त्री बालेन्द्र शाह का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन्।
यी विधेयकहरू गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएको निर्वाचन कानुन संशोधनसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको बताइएको छ।
विधेयकमाथिको दफावार छलफलका क्रममा सांसद प्रेमबहादुर बयक ले समानुपातिक निर्वाचन प्रणालीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व अझ सुनिश्चित गरिनुपर्ने धारणा राखे। उनले समावेशितालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न कानुनी व्यवस्था थप स्पष्ट हुनुपर्नेमा जोड दिए।
जवाफमा मन्त्री गौतमले जनसङ्ख्याको अनुपातका आधारमा जातीय तथा सामाजिक समावेशितालाई आगामी निर्वाचन प्रणालीमा अझ प्रभावकारी बनाउने विषयमा सरकारले ध्यान दिने बताइन्।
यद्यपि ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफलमा भने कुनै सांसदले भाग लिएनन्।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १३ गते बुधबार बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालय ले जनाएको छ ।