काठमाडौँ, १० जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या सरकारले क्रमशः समाधान गर्दै जाने बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले सडक, ढल, बिजुली, खानेपानीलगायत स्थानीयले उठाएका समस्यामा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।
काठमाडौँ महानगरपालिका–४ स्थित विशाल मिलन केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै गुनासा सुन्नुभएको थियो । निर्वाचनका क्रममा गरिएको प्रतिबद्धताअनुसार प्रत्येक महिनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने योजनाअन्तर्गत पहिलो कार्यक्रम सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले “जनताका कुरा सुनेर मात्र सरकार अघि बढ्छ” भन्दै नागरिकको सरोकारलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो । उहाँले शिक्षा मन्त्रालयको हालसम्मको कार्यप्रगति, सरकारका प्राथमिकता तथा आगामी योजनाबारे पनि स्थानीयलाई जानकारी गराउनुभएको थियो ।
मन्त्री पोखरेलले देशभरका सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर आवश्यकताका आधारमा बजेट विनियोजन गरिने बताउनुभयो । “अब सबै विद्यालयलाई एउटै ढाँचामा बजेट पठाउने होइन, जुन विद्यालयलाई जति आवश्यक छ, त्यहीअनुसार बजेट व्यवस्था गरिन्छ,” उहाँले भन्नुभयो ।
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाइने उल्लेख गर्दै उहाँले दक्षता र विशिष्टताका आधारमा विज्ञ समितिमार्फत छनोट गरिने जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले विद्यालय भर्ना शुल्क, खानेपानी अभाव, ढल व्यवस्थापन, सडक बत्ती, सिसिटिभी जडान तथा त्रिवि सेवा आयोगको परीक्षाफल प्रकाशनमा भइरहेको ढिलाइबारे गुनासो गरेका थिए । मेलम्चीको पानी अझै नपुगेको तथा जारको पानीसमेत गुणस्तरहीन रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका थिए ।
स्थानीयका गुनासा सुनेपछि मन्त्री पोखरेलले विद्यालय भर्ना शुल्क सम्बन्धी विषयमा स्थानीय तहलाई आवश्यक निर्देशन दिइसकिएको बताउनुभयो । खानेपानीको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरिने र सुरक्षित खानेपानी सुनिश्चित गरिने उहाँले बताउनुभयो ।
त्यसैगरी सडक बत्ती तथा सिसिटिभी व्यवस्थापनका विषयमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर चाँडै समाधान निकालिने प्रतिबद्धता उहाँले जनाउनुभयो । त्रिवि सेवा आयोगको परीक्षाफल पनि नियमित समयमै सार्वजनिक गरिने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पोखरेलले काठमाडौँ क्षेत्र नं ५ का १५ वटै वडामा क्रमशः सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दै जनताको गुनासो प्रत्यक्ष सुन्ने र समाधानतर्फ अघि बढ्ने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजस्वी शेरचनले पनि जनसरोकारका विषयलाई संसद् र सरकारले आवश्यक रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय बासिन्दा, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।