काठमाडौँ, १२ असोज ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूमाथि प्रहरीले कडाइका साथ निगरानी राखिरहेको जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार हालसम्म आठ हजार कैदीबन्दी पुनः कारागार फर्किएका छन् भने करिब छ हजार अझै फरार रहेका छन् । दसैँ, तिहार, छठलगायत चाडपर्व नजिकिँदै गरेको अवस्थामा फरार कैदीबन्दीका कारण सुरक्षा जोखिम बढ्न सक्ने भएकाले प्रहरीसंगै सर्वसाधारणलाई पनि सतर्क रहन अनुरोध गरिएको छ ।
प्रवक्ता घिमिरेले भने, “भागेकामध्ये कोही चोर डाका हुन् भने कोही आफ्ना मुद्दासम्बन्धी बदलाको भावना बोकेर गाउँ फर्कन सक्छन् । यस्तो देखिएमा तुरुन्त प्रहरीलाई जानकारी दिन नागरिकलाई अनुरोध गरिएको छ ।”
उनका अनुसार सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई संभावित घटनाबारे सूचना आदानप्रदान गरिएको छ । कतिपय फरार कैदी प्रहरी सम्पर्कमै रहेको र कतिपयलाई पक्राउ गर्ने प्रयास भइरहेको छ ।
कारागार व्यवस्थापन विभागले असोज २० भित्रै स्वेच्छाले कारागार फर्कन फरार कैदीबन्दीलाई पुनः आह्वानसमेत गरेको छ । यसबीच केही कैदीहरू भारत भाग्ने क्रममा त्यहाँको प्रहरीले पक्राउ गरी नेपाल फर्काइदिएको, केहीलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको र केही आफैं फर्किएका जानकारी समेत प्रहरीले दिएको छ ।
प्रहरीले भनेको छ “फरार कैदीबन्दीबारे सूचना पाएमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्नुपर्नेछ, र निगरानी कडा भएकाले अपराधमा संलग्न भएमा जुनसुकै बेला पनि पक्राउ पर्न सक्नेछन् ।