• Jana Kura

  • 2025-09-17

काठमाडौँ, १ असोज ।
दशैँ र तिहार नजिकिँदै गर्दा काठमाडौँको नयाँ बसपार्क यात्रुले खचाखच भरिन थालेको छ। गृहजिल्ला फर्किने यात्रुको भीडसँगै बसपार्क फेरि चहलपहलले गुञ्जिएको छ।

गत भदौमा ‘जेनजी’ आन्दोलनका कारण विश्वविद्यालय र क्याम्पसहरू बन्द भएपछि धेरै विद्यार्थीहरू बिदा पाएर घर फर्किन थालेका थिए। यसैसँगै दैनिक यात्रु संख्या सामान्यभन्दा धेरै गुणा बढेको बसपार्क प्रशासनले जनाएको छ।

लोत्से बहुउद्देश्यीय प्रालिका मानव स्रोत प्रमुख पङ्कज मल्लका अनुसार, पहिले दैनिक चार–पाँच हजार यात्रु मात्र बाहिरिने गरेकामा अहिले यो संख्या १२ देखि १५ हजारसम्म पुगेको छ। उनले उपत्यका छोड्नेको संख्या हालसम्म ६५ हजार नाघिसकेको जानकारी दिए।

यसवर्ष अग्रिम टिकट नखोल्ने सरकारी निर्णयका कारण यात्रुहरू सीधै बसपार्कमै पुगेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यसपालि यात्रुको भीड अलि छिट्टै देखिन थालेकाले दसैँमा भीड केही कम हुने अनुमान व्यक्त गरे।

हाल नयाँ बसपार्कबाट ६५ भन्दा बढी जिल्लाका लागि दैनिक बसहरू छुट्ने गरेका छन्। सरकारले यात्रु आवागमन सहज बनाउन असोज ६ गतेदेखि २२ गतेसम्म विशेष रूपमा रुट परमिट खुला गर्ने निर्णय गरेको छ। घर फर्किने यात्रुको उत्साहसँगै नयाँ बसपार्क फेरि पर्वको रौनकमा रंगिन थालेको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै