भक्तपुर, १ असोजः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा नयाँ मितिमा असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको छ।
यसअघि भदौ २८ र २९ गते परीक्षा गर्ने तालिका सार्वजनिक भए पनि देशको वर्तमान अवस्थाका कारण तालिका संशोधन गरी नयाँ मिति तय गरिएको हो।
बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा हुनेछ। त्यही दिन एक विषय मात्र दिनुपर्ने विद्यार्थीले आफ्नो विषयको परीक्षा दिनेछन्। दुई विषय दिने विद्यार्थीले भने पहिलो दिन सानो कोड भएको विषयको परीक्षा दिनुपर्नेछ। त्यसअन्तर्गत अनिवार्य अङ्ग्रेजी (००४१) र अनिवार्य नेपाली (००२१) दुवै विषयका परीक्षार्थीले पहिलो दिन अङ्ग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।
त्यसैगरी, असोज ८ गते दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा सञ्चालन हुनेछ। तर, अनिवार्य अङ्ग्रेजी (००४१) को परीक्षा भने दोस्रो दिन नहुने स्पष्ट गरिएको छ।
बोर्डले परीक्षा केन्द्रहरू यसअघि नै निर्धारण भइसकेको जानकारी दिएको छ।