• Jana Kura

  • 2025-08-29

त्रिवेणी (नवलपरासी), १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको इतिहास, संस्कृति र पहिचान सुरक्षित गर्न विशेष वा स्वायत्त क्षेत्र आवश्यक हुने बताउनुभएको छ।

नवलपुर, डण्डामा आयोजित थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रद्वारा सञ्चालित परम्परागत भोदी खेल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले गण्डकी प्रदेशमा थारू समुदायको उपस्थिति रहे पनि जनसङ्ख्याको आधारमा उनीहरूको प्रदेश वा सङ्घीय संरचनामा प्रतिनिधित्व लगभग असम्भवजस्तै भएको टिप्पणी गर्नुभयो।

“थारूहरूको पहिचान र अधिकारलाई संस्थागत गर्न गण्डकी प्रदेशभित्रै विशेष वा स्वायत्त क्षेत्र दिनुपर्ने हुन्छ,” प्रचण्डले स्पष्ट पार्दै भन्नुभयो, “त्यसबाट मात्रै थारूहरूको आवाज प्रतिनिधित्वसम्म पुर्‍याउन सकिन्छ। यसका लागि सामूहिक रूपमा आवाज उठाउन जरुरी छ।”

उहाँले संविधानमा संरक्षित, विशेष र स्वायत्त क्षेत्रको व्यवस्था भए पनि कार्यान्वयनमा कमी भएको औंल्याउनुभयो। कानुन नबनाइएकै कारण संविधानका कतिपय प्रावधान अझै कागजमै सीमित भएको उहाँको भनाइ थियो।

अध्यक्ष दाहालले स्थानीय तहदेखि सङ्घसम्म दलित, महिला, आदिवासी जनजाति, मजदुर र किसानहरूको प्रतिनिधित्व जनआन्दोलनकै बलमा सम्भव भएको स्मरण गर्दै थारू समुदायका बाँकी अधिकार स्थापित गर्न आफु निरन्तर सक्रिय रहने आश्वासन दिनुभयो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै