काठमाडौँ, १३ साउन /
आज ‘विश्व बाघ दिवस’ मनाइँदैछ। सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा पहिलोपटक आयोजित बाघ सम्मेलनले हरेक वर्ष जुलाई २९ लाई ‘बाघ दिवस’का रूपमा मनाउने निर्णय गरेपछि यो दिवस विश्वभर मनाउन थालिएको हो। नेपालले पनि २०६७ सालदेखि बाघ दिवस मनाउँदै आएको छ।
नेपालमा बाघको संख्या तीन सय ५५ पुगेको छ। सन् २०२२ मा गरिएको पछिल्लो बाघ गणनाअनुसार यो संख्या सन् २००९ को तुलनामा झण्डै तेब्बर भएको हो। सन् २००९ मा नेपालमा १२१ वटा मात्र पाटे बाघ थिए।
तर बाघको संख्या बढेसँगै त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। बाघ संरक्षणसँगै मानव–बाघ द्वन्द्व पनि बढ्दो छ। जङ्गलमा दाउरा, घाँस, निहुरो टिप्न जाने स्थानीयबासी बाघको आक्रमणमा पर्न थालेका छन्। कतिपय बाघ चोरीसिकारमा परेका छन् भने केही पूर्वाधार निर्माणका क्रममा मृत्यु भएको घटनासमेत छन्।
नेपालको धान्ने क्षमता ४०० हाराहारी
हाल नेपालमा बाघको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) ४०० हाराहारी रहेको प्रारम्भिक अध्ययनहरूले देखाएका छन्।
डा. भगवानराज दाहाल (जेडएसएल नेपाल) का अनुसार, अहिलेको संख्या धेरै नभई गुणस्तरीय आहारा, घाँसेमैदान, र पानीका स्रोत बढाएर अझ सहज रूपमा व्यवस्थापन गर्न सकिन्छ।
यही विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, एनटिएनसी, डब्लुडब्लुएफ नेपाल, र जेडएसएल संयुक्त अध्ययन गरिरहेका छन्।
बाघ – पर्यटन र जैविक विविधताको अभिन्न हिस्सा
बाघ नेपालका लागि केवल वन्यजन्तु मात्रै होइन, पर्यटन र जैविक विविधताको महत्वपूर्ण पहिचान पनि हो।
डा. चिरिञ्जीवी पोखरेल (एनटिएनसी) ले बाघको महत्वबारे भन्नुभयो, “बाघले जंगलको ठुलो क्षेत्र ओगट्छ, आफ्नो आहारा खोज्न निस्कन्छ, कहिलेकाहीँ पानीको खोजीमा बाहिर आउँछ। यही कारणले द्वन्द्व हुन्छ। तर बाघ आफ्नो बानी बदल्दैन, हामीले बदलिनुपर्छ।”
मानिसलाई संरक्षित क्षेत्रमा जान नदिई सिपमूलक तालिम, वैकल्पिक जीविकोपार्जन, र जनचेतना कार्यक्रम मार्फत मानव–बाघ सहअस्तित्व स्थापना गर्नुपर्ने उहाँको सुझाव छ।
देशभर १८ समस्याग्रस्त बाघ खोरमा
हाल नेपालभर १८ वटा समस्याग्रस्त बाघ विभिन्न निकुञ्ज र चिडियाखानामा राखिएका छन्।
मानव बस्तीमा पसेका, आक्रमण गरेका वा घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरी राखिएको हो।
जावलाखेल चिडियाखानामा पाँच, चितवनमा सात, बर्दियामा चार, बाँके र पर्सामा एक–एक बाघ छन्।
यी बाघको हेरचाहमा सरकारको तर्फबाट वर्षेनी ठूलो रकम खर्च हुने गरेको छ। व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्ने, केहीलाई विदेशमा उपहारस्वरूप पठाउने, प्राणी उद्यानमा राखेर आम्दानी गर्ने जस्ता विकल्पमाथि छलफल सुरु भएको छ।
विश्वभर बाघको संख्या ५,३५७ पुगेको छ
विश्वभर अहिले ५ हजार ३५७ वटा बाघ छन्, जसमध्ये सबैभन्दा बढी भारतमा (३,१६७)।
नेपालमा ३५५ बाघ छन्। अन्य देशहरूमा भने बाघको संख्या निकै कम छ – लाओसमा मात्र २, भियतनाममा ५ वटा।
अबको बाटो: संरक्षणसँगै सहअस्तित्वको सोच
वन्यजन्तु कोष नेपालका डा. घनश्याम गुरुङले भन्नुभयो, “बाघलाई समस्या होइन, अवसरका रूपमा लिनुपर्छ। यदि बाघको बासस्थान राम्रोसँग व्यवस्थापन गर्न सकियो भने द्वन्द्व घट्छ र संरक्षण सजिलो हुन्छ।”
उनको जोड छ – जङ्गलमा निर्भर समुदायलाई वैकल्पिक आयको बाटो खोल्नुपर्छ।
बाघ बचाउने अभियान अब केवल संरक्षणमा सीमित रहेन। यो मानव जीवन, पर्यावरणीय सन्तुलन, पर्यटन, र राष्ट्रिय गौरवसँग जोडिएको साझा जिम्मेवारी हो।