• Jana Kura

  • 2025-07-29

 

काठमाडौं, १३ साउन । श्रावण शुक्ल पञ्चमी, आजको दिन देशभर नागपञ्चमी पर्व श्रद्धा, आस्था र परम्पराका साथ मनाइँदैछ। प्राचीन वैदिक परम्पराबाट चलिआएको यस पर्वमा घरको मूलढोकामा नागको तस्बिर टाँसी पूजा गरिन्छ। जनविश्वास अनुसार यसरी पूजा गरेपछि सर्प, नाग, बिच्छी जस्ता जीवजन्तुले घरपरिवारलाई हानि पुर्‍याउँदैनन्, साथै अग्नि, चट्याङ र विपत्तिको डर पनि टर्छ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार नागपूजाको परम्परा वैदिककालदेखि चलिआएको हो। “नागलाई सर्पको राजा मानिन्छ। जब नाग रिसाउँछ, पानीको अभाव हुन्छ भन्ने मान्यता छ। त्यसैले जलको स्रोतका रक्षकका रूपमा पनि नागको पूजा गरिन्छ,” डा. भट्टराईले बताउनुभयो।

नागपञ्चीसम्बन्धी एक मार्मिक किंवदन्ती जनविश्वासमा गहिरो रूपमा बसिरहेको छ।
एक किसानले खेत खन्ने क्रममा तीनवटा नागका बच्चा मारे। जब नागिनी (ती बच्चाकी आमा) घर फर्किइन्, आफ्ना सन्तानको हत्या देखेर रिसले क्रुद्ध भइन्। उनले किसान, उनको श्रीमती र दुई छोराको ज्यान लिइन्।
तर संयोगवश घरबाहिर भएकी किसानकी छोरी बाँचीन्। उनलाई पनि मार्न खोजेकी नागिनीलाई ती छोरीले बिन्ती गरिन्– “म तपाईंको पूजा गर्छु, दूध चढाउँछु, कृपया मलाई नमार्नुहोस्।”
छोरीको भक्ति र करुणाले नागिनीको मन पग्लियो। छोरीको पूजा र दूधको भाँडोबाट प्रसन्न भएर नागिनीले वर माग भन्नुभयो। छोरीले आफ्ना मरेका बाबु, आमा र दाजुभाइलाई जीवनदान दिन आग्रह गरिन्। नागिनीले “तथास्तु” भनि सबैलाई पुनर्जीवन दिइन्।

त्यही दिन श्रावण शुक्ल पञ्चमी परेकोले, आजको दिन नागपूजा गरी घरको ढोकामा तस्बिर टाँस्ने परम्परा बस्यो भन्ने जनविश्वास छ।

वैदिक सनातन परम्परामा नागलाई भगवान् विष्णु, शिव र गणेशसँग जोडिएको पाइन्छ। शिवले नागमाला लगाउनुहुन्छ, विष्णुले शेषनागमाथि शयन गर्नुहुन्छ, गणेशका हातमा नाग देखिन्छ।
श्रीरामका भाई लक्ष्मण र श्रीकृष्णका दाजु बलरामलाई शेषनागको अवतार मानिन्छ।
कालीनागमाथि नाचेर बालकृष्णले विजय प्राप्त गरेको कथा, बुद्धका शिरमा नागमुकुट, जैन तीर्थंकरहरूको पनि नागसँगको सम्बन्ध यिनै परम्पराका अंश हुन्।

काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीजस्ता स्थानमा विशेष पूजा र श्रद्धासाथ नागलाई दूध, दुबो, अक्षता, खीर र रोटी चढाइन्छ। आजको दिन खनजोत नगर्ने, घिस्रने जनावरलाई हानि नगर्ने मान्यता छ।
नागका बाह्र नाम भए तापनि आठ कूलका आठ नागहरू  अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख  लाई मुख्य रूपमा पूजा गरिन्छ।

विज्ञानले पनि पुष्टि गरिसकेको छ कि सर्पले विषालु तत्व शोषण गरेर वातावरणलाई सन्तुलित राख्न भूमिका खेल्छन्। यही कारण ऋषिमुनिहरूले नागपूजाको परम्परा बसालेका हुन्।

यस पर्वसँगै वैदिक सनातनी चाडपर्वको मौसम सुरु भएको मानिन्छ।

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै