काठमाडौं, असार २ / “हामी हाम्रो अधिकारका लागि उठ्छौँ” भन्ने दृढ भावनासहित काठमाडौंको खुशिबुँस्थित नेपा: ब्याङ्क्वेटमा नेवाः समुदायका जातीय संघसंस्थाहरूबीच ‘खोला मापदण्ड र हाम्रो सरोकार’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ।
भूमि अधिकार संरक्षण समितिको आयोजनामा सम्पन्न उक्त छलफलमा सहभागी वक्ताहरूले सर्वोच्च अदालतमा यही असार १२ गते हुने पेशीको सन्दर्भमा बृहत् प्रदर्शन गर्ने निर्णयसहित गम्भीर छलफल गरेका थिए।

कार्यक्रममा नेपाल राष्ट्रिय खड्गी सेवा समितिका अध्यक्ष नन्द किशोर शाही, ज्यापु महागुथिका उपाध्यक्ष मचाराजा महर्जन, नेपाल द्यः पाला संघका अध्यक्ष प्रकाश द्यःला, काठमाडौं १२ का वडा अध्यक्ष बालकृष्ण महर्जन, रञ्जितकार समाजका अध्यक्ष दीपक रञ्जित, गुसिंगाल मापदण्ड पीडित संघर्ष समितिबाट सूर्य तण्डुकार, बाग्मती करिडोर पीडित संघर्ष समितिबाट रूपा डांगी, धोबिखोला, मैलबारि, असन, कमलपोखरीलगायतका अभियानका अगुवा तथा भूमि अधिकार संरक्षण समिति टोल, वडा र नगर प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले गैरन्यायिक खोला मापदण्डले पुराना बस्ती, गुथी जग्गा र सांस्कृतिक विरासतहरूलाई विस्थापन गर्ने खतरा देखिएको भन्दै यसको खारेजीको लागि नेवाः समुदायका सबै जातीय समाज एकजुट भई संयुक्त संघर्षमा उत्रनु पर्नेमा जोड दिए।
कानुनी पक्ष प्रष्ट पार्दै अधिवक्ता राजु शाक्यले जनताको जग्गा खोस्ने गरी ल्याइएको खोला मापदण्ड संविधानविपरीत भएको तर्क प्रस्तुत गरे। उनले यो मापदण्डले आफ्नो परिवारलाई समेत प्रत्यक्ष असर गर्ने भन्दै सडक संघर्षमा उत्रने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सिठ्ठी जुलुस, प्लेकार्ड प्रदर्शन, जागरण सभा लगायतका कार्यक्रमहरू गर्दै असार १२ मा हुने बृहत प्रदर्शनलाई ऐतिहासिक बनाउने तयारी थालिएको जानकारी दिइयो।
छलफलको समापनतर्फ वक्ताहरूले गुथी विधेयकविरुद्धको आन्दोलनलाई सम्झँदै न्यायप्रेमी सबैलाई फेरि एकपटक सडकमा उत्रिन आह्वान समेत गरे।