• Jana Kura

  • 2025-05-28

 

काठमाडौँ, १४ जेठ – पछिल्लो समय चर्चामा आएको भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाइसकेको भन्दै, आफूले आयोगलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। “राज्यमा सुशासन कायम गर्न जे-जति आवश्यक छ, त्यो सबै गर्न म तयार छु,” उहाँको भनाइ थियो।

उहाँले अनुसन्धानको निष्कर्ष आउनु अघि कसैलाई दोषी करार नगर्न आग्रह गर्दै भन्नुभयो, “जो दोषी हो, उसमाथि कारबाही हुन्छ नै। तर, निर्णय आउनुअघि हतार नगरी सक्षम निकायको निष्कर्षको पर्खाइ गरौँ।”

गृहमन्त्री लेखकले यस्तो प्रश्न पनि गर्नुभयो – “यदि कुनै राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान हुन्छ भने त्यसको जिम्मा सधैं विभागीय मन्त्रीले लिनुपर्ने हो भने, प्रत्येक वर्ष अख्तियारबाट उठ्ने सयौं मुद्दाको जिम्मेवारी सबै मन्त्रीहरूले लिनुपर्ने हो र?”

भिजिट भिसा प्रकरणलाई लिएर बजारमा फैलिएका केही भ्रामक समाचारप्रति उहाँले दुःख व्यक्त गर्नुभयो। “मैले ती समाचार प्रकाशन भएको दिनमै सभामुखमार्फत संसदमा बोल्ने समय मागेको थिएँ। जनताको थलो संसदमा नै प्रष्टिकरण दिन चाहन्थेँ, तर त्यो अवसर पाइनँ,” उहाँले बताउनुभयो।

गृह मन्त्रालयको जिम्मेवारी मुख्यतः नीति निर्माण र सरकारको राजनीतिक संयोजनमा केन्द्रित हुने स्पष्ट गर्दै मन्त्री लेखकले भने, “सरकारी कार्यालयमा भएका सबै घटनामा मेरो संलग्नता हुने कुरा अस्वाभाविक हो। जुन ठाउँमा मेरो भूमिका हुन्छ, म त्यसको जिम्मा लिन तयार छु।”

अन्त्यमा उहाँले गलत सूचना र तथ्यका आधारमा राजनीतिक लाभ उठाउने प्रयासहरूबारे सचेत रहन नागरिकलाई आग्रह गर्दै भन्नुभयो, “देश र जनताको हितलाई ध्यानमा राखेर निर्णय गरौं, भावनामा होइन, तथ्यमा विश्वास गरौं।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै