• Jana Kura

  • 2025-05-28

 

काठमाडौँ, १४ जेठ — राजधानी काठमाडौँको मुटुमा रहेको बागमती नदीको निकासस्थल चोभारको खोचमा रहेका अवरोधहरू हटाइने भएका छन्। गत वर्ष मनसुनको समयमा यही खोचमा पानीको बहाव अवरुद्ध हुँदा वरपरका बस्तीहरू डुबानमा परेको थियो।

सोमबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले सहरी विकास मन्त्रालयको नेतृत्वमा नेपाली सेनाको सहयोगमा चोभारको खोच सफा गर्ने कार्य अगाडि बढाउने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार, गत वर्षको अनुभवले देखाएको छ— खोचमा जमेको ढुंगा, माटो र झारपातले बागमतीको प्राकृतिक बहाव रोकिएको थियो। यही कारणले आसपासका क्षेत्रमा डुबान आएको थियो। अब यी अवरोध हटाइनेछ।

त्यसैगरी बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२’ पनि स्वीकृत गरेको छ। मौसम विभागले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिसकेको छ। विभागका अनुसार जेठ १८ देखि असार १६ सम्म धेरै पानी पर्नेछ भने त्यसपछि केही घट्ने सम्भावना छ।

गृहमन्त्री लेखकले भने, “मनसुन आउनु अघि नै सबै तयारी गरौँ। पछि हैरान हुने अवस्थालाई अहिले नै रोकौँ।”

बैठकमा गृह, भौतिक, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिवहरू, प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका उच्च अधिकृत, निजी क्षेत्रका प्रतिनिधि तथा विभिन्न मन्त्रालयका सहसचिवहरूको उपस्थिति रहेको थियो।

यस कदमले बागमती नदी वरपरका बासिन्दालाई डुबानको डरबाट केही राहत दिलाउने आशा गरिएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै