• Jana Kura

  • 2025-05-26

सामाजिक रूपान्तरणको अभियानमा ललितकलाको सशक्त प्रस्तुति

काठमाडौं, जेठ १५ –
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली चित्रकला, मूर्तिकला, वास्तुकला, लोककला, हस्तकलालगायत विविध सिर्जनात्मक कलालाई संरक्षण, प्रवर्धन र विकास गर्ने उद्देश्यले जेठ १५ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ सुरु गर्दैछ।

‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावसहित हुन लागेको यस प्रदर्शनीमा सातै प्रदेशका ५७१ जना कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिनेछ। प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका अनुसार यस प्रदर्शनीमार्फत देशभरिका सिर्जनशील कलाकारलाई एउटै थलोमा समेटी कलाको मौलिकता, समृद्धि, रोजगारी सिर्जना र सांस्कृतिक अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य लिइएको छ।

कलाकृतिहरूको समावेशिता र विविधता
प्रदर्शनीमा समसामयिक चित्रकला, परम्परागत चित्रकला, आधुनिक तथा परम्परागत मूर्तिकला, वास्तुकला, लोककला, हस्तकला, बहुआयामिक, फोटोग्राफी, प्रतिस्थापन कला, क्यारिकेचर, कार्टुनलगायत विविध विधाका कृति समावेश छन्।

विधागत रूपमा:

  • समसामयिक चित्रकला – २०१ कलाकारका २०८ कृति
  • परम्परागत चित्रकला – ७२ कलाकारका ७३ कृति
  • मूर्तिकला (समसामयिक/परम्परागत) – ६७ कलाकारका ७० कृति
  • वास्तुकला, लोककला – ८४ कलाकारका ८८ कृति
  • हस्तकला – ७४ कलाकारका ७९ कृति
  • फोटोग्राफी, प्रतिस्थापन, क्यारिकेचर, डिजिटल कला पनि समेटिएको छ।

प्रदर्शनीको मूल सन्देश
प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यका अनुसार यस वर्षको प्रदर्शनी ‘कलाले समाज बदल्न सक्दछ’ भन्ने भावनामा केन्द्रित छ। “कलाले परिवर्तनको आवाज दिन सक्छ, कलाकार स्वयं परिवर्तन हुन सक्छन् कि?” भन्ने प्रश्नले क्युरेटिङको आत्मा बोकेको छ।

सम्मान र पुरस्कार
यसपटक ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिनेछ।
सर्वोत्कृष्ट ललितकला पुरस्कार विनम्र डङ्गोललाई, समसामयिक चित्रकलातर्फ कृष्ण लामा, मूर्तिकलातर्फ चन्द्रमणि मगर, शिल्पकलामा राजकुमार शिल्पकार लगायत दर्जनौँ कलाकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।

नवप्रतिभा पुरस्कार, प्रादेशिक उत्कृष्टता पुरस्कार, ललितकला पत्रकारिता र लेखन पुरस्कार, स्मृति पुरस्कार, संस्थागत सम्मानलगायत गरी कुल ५० भन्दा बढी व्यक्तित्व र संस्थाहरू सम्मानित हुनेछन्।

प्रादेशिक ललितकला प्रदर्शनीबाट राष्ट्रव्यापी यात्रा
यो प्रदर्शनी विभिन्न प्रदेशमा सम्पन्न प्रादेशिक ललितकला प्रदर्शनीहरूबाट छानिएका कृतिहरूको संयुक्त प्रस्तुति हो। कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आयोजित प्रदर्शनीहरूमा सयौँ कलाकारहरूको सहभागिता रह्यो।

प्रदर्शनीमा सहकार्य र समर्थन
नेपाल प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, प्रदेश सरकार, विभिन्न स्थानीय निकाय, कलाकार संघसंस्था र थुप्रै सहकार्यकर्ता संस्थाहरूको योगदानमा प्रदर्शनी सम्भव भएको हो। नेपाल पर्यटन बोर्ड यस प्रदर्शनीको प्रमुख प्रवर्द्धक रहेको छ। राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा जेठ १५ गतेबाट सुरु भई जेठ ३० गतेसम्म सञ्चालन हुनेछ।

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै